काठमाडौं, १४ पुस । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामीण भेगमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप बनाउन आग्रह गरेका छन् ।

बुधबार २४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामीण भेगमा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताएका हुन् ।

सहरी क्षेत्रमा ठूला भवनहरू र विद्यालयका भवनहरू बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उनले ग्रामीण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराएका हुन् ।

ग्रामीण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाइ छ ।

गृहमन्त्री खाँणले यस वर्षको २४औं भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दा पनि सन्देशमूलक कार्यक्रमको रूपमा मनाउन निर्देशन दिए । भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिककहाँ पु¥याउनुपर्ने उनको जोड छ ।