काठमाडौं, १३ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका असन्तुष्ट नेता तथा कार्यकर्ताहरूले मंगलबार तेस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले विधान मिचेर प्रदेश र जिल्लामा नेतृत्व मनोनित गरेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरू बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बसेका हुन् ।

प्रदेश २ का साथै जिल्लाहरूमा नेतृत्व तोक्दा अध्यक्ष ठाकुरले एकलौटी गरेको आरोप असन्तुष्ट नेताहरूको छ । नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै धनुषा र महोत्तरीबाट आएका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ठाकुरले भेट्न चाहेका छैनन् ।

अध्यक्ष ठाकुर आफूहरूसँग भेट्न तयार नभएको आइतबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ । लोसपा धनुषाका नेता धिरेन्द्रबहादुर सिंहले असन्तुष्टिबारे पूर्वजानकारी गराएर आफूहरू यहाँ आए पनि अध्यक्षलगायतका शीर्ष नेताहरू विगत ३ दिनदेखि आफूहरुको कुरासमेत सुन्न नआएको बताए ।

सामूहिक ढंगबाट निर्णय हुने भनिए पनि विधान मिचेर एकलौटी गरिएको र एकै व्यक्तिलाई दोहोरो तेहरो जिम्मेवारी दिएकोप्रति आफूहरूको असन्तुष्टि रहेको उनले बताए । आफूहरू कसैको पक्ष वा विपक्षभन्दा पार्टीभित्र विधि प्रक्रिया बसाल्न संघर्षमा उत्रिएको असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ ।

उता, अध्यक्ष ठाकुरले गत मंसिर २५ गते मोरङ जिल्लाको अध्यक्षमा पनि पार्टीको अन्तरिम विधानको दफा ३ को (ख) विपरित मो. कादिरलाई मनोनयन गरेको र पर्यवेक्षकको समेत विधानमा व्यवस्था नभएपनि पर्यवेक्षक मनोनयन गरेर पार्टीको विधानको खिल्ली उडाई जिल्लाका पार्टी नेता, कार्यकताहरूको मनोवल र साखमा आघात पुर्याएको लोसपा मोरङका नेता सत्यनारायण साहले बताए ।

केन्द्रिय अध्यक्ष ठाकुरको यस किसिमको क्रियाकलापबाट पार्टीको साख तल झर्नुका साथै पार्टी धरापमा समेत जान सक्ने उनले बताए । अध्यक्ष ठाकुरको निर्णयप्रति मोरङका केन्द्रिय, प्रदेश र जिल्लाका नेता तथा कार्यकर्ताहरू आपत्ति जनाउँदै विरोध जनाएका छन् ।