जनकपुरधाम, १३ पुस । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिरहाका प्रहरी प्रमुखलाई जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र नछाडे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेलाई जनकारवाही गर्ने उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन् ।

सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको गहुँको विऊ वितरण गर्नमा ढिलाई गरेपछि किसानहरुले लुटपाट गरेका थिए । सोही घटनामा प्रहरीले किसानमाथि मुद्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताहरु विरोधमा उत्रेका छन् । सोही क्रममा तिनीहरुले दर्जनौँ गाडीमा तोडफोड गर्नुका साथै एउटा ट्रकमा आगजनीसमेत गरेका थिए । घटनामा संलग्न एक दर्जन कार्यकर्तालाई प्रहरीले जनमत नियन्त्रणमा लिएपछि अवस्था थप तनावग्रस्त बनेको थियो । अहिले स्थानीय प्रशासनले सिरहामा निषेधाज्ञा लगाएको छ ।

सीके राउतले फेसबुकमा लेखेका छन्, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुव्र्यवहार भइराखेको, जाडोमा कपडा समेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको भनेर समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ । २०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’

सीके राउतका पार्टीका कार्यकर्ताहरुले यस अघि धनुषाको जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निर्माण व्यवस्थापन आयोजना कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेका थिए ।