महोत्तरी, १३ पुस । महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ ।

स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले सोमबार राति करिब ९ बजेको समयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर ५ लाख भन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।

पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।