काठमाडौं, १२ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका असन्तुष्ट नेता कार्यकर्ताहरूले सोमबार दोस्रो दिन पनि केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

विधान मिचेर प्रदेश र जिल्लाका नेतृत्व मनोनित गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरू बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बसेका हुन् ।

प्रदेश २ का साथै जिल्लाहरूमा नेतृत्व तोक्दा अध्यक्ष महन्थ ठाकुरले एकलौटी गरेको आरोप असन्तुष्ट नेताहरूको छ । नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै धनुषा र महोत्तरीबाट आएका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ठाकुरले भेट्न चाहेका छैनन् ।

अध्यक्ष ठाकुर आफूहरूसँग भेट्न तयार नभएको आइतबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ । लोसपा धनुषाका नेता धिरेन्द्रबहादुर सिंहले असन्तुष्टिबारे पूर्वजानकारी गराएर आफूहरू यहाँ आए पनि अध्यक्षलगायतका शीर्ष नेताहरू कुरा सुन्न नआएको बताए ।

सामूहिक ढंगबाट निर्णय हुने भनिए पनि विधान मिचेर एकलौटी गरिएको र एकै व्यक्तिलाई दोहोरो तेहरो जिम्मेवारी दिएकोप्रति आफूहरूको असन्तुष्टि रहेको उनले बताए । आफूहरू कसैको पक्ष वा विपक्षभन्दा पार्टीभित्र विधि प्रक्रिया बसाल्न संघर्षमा उत्रिएको असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ ।