सप्तरीमा एक महिलाको बीभत्स हत्या

सप्तरी, १२ पुस । सप्तरीमा एक महिलाको बीभत्स हत्या गरिएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ बरही वीरपुरमा एक महिलाको हत्या गरिएको हो ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएको अवस्थामा स्थानीय जमाहर यादवकी अन्दाजि ५२ वर्षीया पत्नी भुटनी देवी यादवको हत्या गरिएको प्रहरीले जनाएको छ । आइतवार बेलुका घरबाट गँहु खेतमा खरानी फाल्न गएको तथा राति अबेरसम्म नआएपछि घरपरिवारका सदस्यहरुले खोजी गर्न सुरु गरेका थए ।
आज बिहान उनको शव हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयले भुटनिको टाउकोमा बियरको बोतलले हानेर हत्या गरेको हुन सक्ने अनुमान गरेका छन् ।
घटनास्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको र एउटा फालिएको अवस्थामा फेला परेको छ । भुटनिलाई हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाकको फुल सहित अन्य गरगहना पनि लुटेको पिडितका परिवारजनले जनाएका छन् । भुटनी दुध बेचेर गुजारा गर्दै आइरहेकी थिइन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटना कसले र किन गराएको बारे खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यस अघि छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या गरिएको थियो । यसअघि छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर–६ खुदीबखारीको एक जना वृद्धको घाँटी रेटी हत्या गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


