जनमत पार्टीद्वारा सोमबार पनि सिरहा बन्द

सिरहा, १२ पुस । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले सोमबार पनि सिरहा बन्द गरेको थियो । सीके राउतका नेता कार्यकर्ताहरु विभिन्न ७ बुँदे मागसहित आन्दोलनमा उत्रेका छन् ।
पक्राउ परेका किसानलाई रिहाइ गर्नुपर्ने, किसानमाथि लगाइएका झुठा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रेको हो ।
जनमतले आज सिराहमा चक्काजाम गरेको थियो । औरही गाउँपालिकाले वितरणका लागि गोदाममा राखेको गहुँको बीउ लुटिएको आरोपमा प्रहरीले स्थानीय एक किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ ।
वितरणमा ढिलाई भएको भन्दै लाइन बसेका किसानहरू जथाभावी गहुँको बीउ लुटेर लगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो भने केहीमाथि मुद्दा चलाइएको छ ।
आइतबार आन्दोलनकारीले दर्जनौं गाडीमा तोडफोड गर्नुका साथै केही गाडीमा आगजनीसमेत गरेका थिए ।
किसानको रिहाइको माग गर्दै शुक्रबार उनीहरुले गाउँपालिकामा तालाबन्दी र प्रदर्शन समेत गरेका थिए । प्रहरीले औरही गाउँपालिका–३ कड्हरबाका किसान मिथिलेश यादवलाई बिहीबार पक्राउ गरेको थियो ।
जनमत पार्टीले किसान पक्राउ परेयता निरन्तर प्रदर्शन गर्दै आएको छ । तर, प्रहरीले रिहाइ नगरेपछि पार्टी आन्दोलनमा उत्रिएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


