किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीद्वारा आज सिरहा बन्द

–विनय कुमार यादव
सिरहा, ११ पुस । सिरहाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेको आरोपमा प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टी आन्दोलित भएको छ ।
जनमत पार्टीले किसान पक्राउ परेयता निरन्तर प्रदर्शन गर्दै आएको छ । तर, प्रहरीले रिहाइ नगरेपछि पार्टी आन्दोलनमा उत्रिएको हो ।
जनमत पार्टीका नेता कार्यकर्ताहरु बिहानैदेखि पूर्वपश्चिम राजमार्गसहित जिल्लाका विभिन्न सडकखण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । जिल्ला बन्दले सरकारी कार्यालय, यातायात, विद्यालय लगायतका क्षेत्र प्रभावित बनेका छन् ।
किसानको रिहाइको माग गर्दै शुक्रबार उनीहरुले गाउँपालिकामा तालाबन्दी र प्रदर्शन समेत गरेका थिए । प्रहरीले औरही गाउँपालिका–३ कड्हरबाका किसान मिथिलेश यादवलाई बिहीबार पक्राउ गरेको थियो ।
गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको भन्दै चारजना किसानविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ । सोही आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेको र अन्यको खोजी गर्न थालेपछि जनमत पार्टी आन्दोलित बनेको हो ।
गाउँपालिकाले किसानलाई नै वितरण गर्न करिब साढे तीन सय बोरा गहुँको बीउ स्वास्थ्य चौकीमा थन्काएर राखेको थियो । वितरणमा ढिलाइ गरेको र आफ्ना मान्छेलाई रातिको समयमा वितरण गर्ने गरेकाले किसानहरु आवश्यकता पूर्तिका लागि गहुँको बीउ मंगलबार लगेको उनीहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


