कृषि मिटरको भुक्तानी गर्न सप्तरीको एक स्थानीय तह र खल्तीबिच सम्झौता

सप्तरी, १० पुस । कृषि मिटरको भुक्तानी गर्न सप्तरीको एक स्थानीय तहले खल्तीसँग सम्झौता गरेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका र अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबीच सम्झौता भएको हो ।
गाउँपालिकाका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदानस्वरुप सिंचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मिटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको हो ।
सप्तरी जिल्लाको दक्षिणपूर्वी भेगस्थित तिलाठी कोइलाडी गाउँपालिकामा यसअघि सिंचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरण प्रयोग गरिरहेका थिए ।
खल्तीसँगको साझेदारीमा आर्थिक अनुदान कार्यान्वयनमा आएपछि न्यूनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरी विभिन्न कृषिजन्य कामका लागि विद्युतीय उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकाले कृषि मिटरको लागि प्रतिघर वार्षिक एक हजार २०० रुपैयाँ अनुदान दिनेछ । त्यस्तै बिजुलीको महसुलस्वरुप प्रतिघर प्रतिमहिना ५० रुपैयाँ पचास अनुदान दिइने खल्तीले जनाएको छ । उक्त योजनाअन्तर्गतको नगद अनुदान खल्तीले डिजिटल प्रविधिबाट भुक्तानी गर्नेछ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल नेपालको सपना बोकेको खल्ती डिजिटल वालेट तिलाठी कोइलाडी गाउँपालिकासँग हातेमालो गरेर त्यहाँका किसानहरुलाई प्रोत्साहन गर्न निकै नै उत्साहित रहेको प्रतिक्रिया दिए ।
२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्षअघिदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पु¥याउँदै आएको छ ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिन्छ । साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु खल्तीबाट लिन सकिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


