काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना भाइ शशांक र बहिनी सुजाता कोइरालाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

कोइराला समाजको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनमा हार जित हुन्छ । हारबाट मानिसले सिक्नुपर्छ । र मैले पनि धेरै कुरा सिकैँ । एउटा कुरा त मैले के सिकेँ भने परिवारका अग्रजहरूले परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले चाहिँ भोलि राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने उहाँहरूको भनाइ सत्य जस्तै लाग्यो मलाई ।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उनलाई निवर्तमान महामन्त्रीसमेत रहेका डा. शशांक कोइराला र पूर्वकेन्द्रीय सदस्य सुजाता कोइरालाले असहयोग गरेका थिए ।

असहयोग हुनलाई उनले हारको एउटा कारण मान्दै आएका छन् । तर, पनि पार्टीमा पुस्तान्तरण र रूपान्तरणको एजेण्डा पनि सफल भएको उनको दाबी छ ।