काठमाडौं, ९ पुस । सत्तारूढ नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा १२० जनालाई थप्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ ।

आगामी पुस ११ गतेदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत् माओवादी केन्द्र पुनः बहुपदीय प्रणालीमा फर्कन लागेको हो ।

हाल कायम रहेको १७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको जनाएको छ । सम्मेलनबाट आउने २९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ ।

शान्ति प्रक्रियापछि मोहन वैद्य ’किरण’ र बाबुराम भट्टराईको समयमा बहुपदीय प्रणालीमा गएको माओवादी उनीहरू बाहिरिएसँगै लामो समयदेखि अध्यक्ष प्रचण्डको एकल नेतृत्वमा पार्टी सञ्चालन हुँदै आएको थियो ।

वैद्य, भट्टराई, सिपी गजुरेललाई उपाध्यक्ष र रामबहादुर थापालाई महासचिवको जिम्मेवारीसहित पहिलो संविधानसभाताका बहुपदीय प्रणालीमा पार्टी सञ्चालन गरेको थियो ।

तर, देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेपछि माओवादी पुनः बहुपदीयमा प्रणालीमा जान लागेको हो । १२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट आउने भए पनि दलित समुदायवाट ४५ जना, युवा ४८, मुस्लिम १५ जनालगायतको आरक्षण कोटा तय गरिसकेको छ ।