पार्टीभित्र मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मेरो उम्मेदवारी: डा.ठाकुर

जनकपुरधाम, ७ पुस । नेपाली काँग्रेसको जारी प्रदेश २ को प्रथम अधिवेशनमा सबैभन्दा कान्छो उमेरका युवा चिकित्सक डा.सज्जन ठाकुर प्रदेश सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेपाली काँग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले खुल्ला तर्फ प्रदेश सदस्य पदका लागि उम्मेदवारी दिएको डाक्टर ठाकुरले बताए । उनले आफूले आफ्नो चिकित्सकीय पेशाका साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत जानकारी दिए ।
उनले भने,‘म निर्वाचित हुँदा व्यक्तिगत स्वार्थको लागि नभई पार्टी हितको लागि निरन्त कार्यरत रहनेछु । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न सदैव तत्पर रहनेछु ।’
राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु,‘उनले भने,‘प्रदेश सदस्य भएर अझै जिम्मेवारीका साथ पार्टीको हित र जनताको हितमा निरन्तर खटिरहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।’
डाक्टर ठाकुरले भने कुनै प्यानल रोजेका छैनन् ।
सज्जनको राजनीतिक यात्रा
वि.सं २०४२ साल कार्तिक ७ गते महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–१० साडीमा जन्मेका सज्जन बंगलादेशमा अध्ययनरत रहँदा सन् २००७ देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका छन् । प्रखर वक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका सज्जनले बंगलादेशमा नेविसंघ च्यापट गठन गरि प्रवक्ताको रुपमा कार्यभार सम्हालेका थिए । उनी त्यतीबेला नेविसंघको बंगलादेश च्यापटको प्रवक्ता थिए ।
सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहेका सज्जन नेबिसंघमा रहँदा त्यहाँका बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भए । उनी नेपाली काँग्रेसको भातृसंगठन तरुण दलको समेत जलेश्वर नगरपालिकाका नगर सदस्य भई काम गरिसकेका छन् । त्यस्तै, पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको स्वास्थ्य समितिको विज्ञ सल्लाहकारको रुपमा समेत उनले आफ्नो सफल भूमिका निर्वाह गरेका छन् ।
आफ्नो विचार राख्ने कुशलता र भाषणकलाले लोकप्रियता पाएका डाक्टर सज्जन किशोरावस्था देखि नै पार्टीमा क्रियाशिल भएर लागिरहे । नेता तथा कार्यकर्ताबीच लोकप्रिय रहेका उनी स्थानिय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल भएका छन् । हाल उनी युवा चिकित्सक संघ प्रदेश २ को संयोजक, नेपाल मेडिकल एसोसिएशनको काउन्सिल सदस्यलगायत दर्जनौं संघ–संस्थामा आबद्ध रहेका छन् । उनी नेपाल डेन्टल एसोसिएशन धनुषाको पूर्वमहासचिव समेत भईसकेका छन् ।
कोमल मन भएका सज्जन समाजसेवामा समेत समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र स्वरोजगार आफ्नो राजनीतिको मूल आधार रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


