जनकपुरधाम, ७ पुस । सिरहामा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–२ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नम्बर–६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

गत शनिवार राति करिब साढे ८ बजे सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–६ मा दुई समुहबिच विवाद भएको थियो ।

सोही विवादमा दिपक साह लगायतका समुहले छुरा प्रहार गरेपछि वडा नम्बर–६ डोहटियाका २६ वर्षीय रामकुमार सदा र रिकेश सदा घाइते भएका थिए । घाइतेहरुलाई भूमिजा अस्पताल गोलबजार लगेकोमा त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि आर.के. मेडिसिटी अस्पताल धनगढी लगिएको थियो ।

उपचारकै क्रममा रामकुमार सदाको मृत्यु भएको थियो । घाइते रिकेश सदाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

शनिवार गोलबजार–६ स्थित लक्ष्मी मन्दिर देखि पश्चिमतर्फ जाने सार्वजनिक बाटोमा हो–हल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेको राम प्रसाद सदा लगायतको समुहलाई दिपक साह लगायतको समुहले किन हो–हल्ला गरेको ? हल्ला नगरी आफ्नो घर जानु भने पश्चात विवाद भई झगडा भएको थियो ।

घटना पश्चात स्थानीयहरुले आन्दोलन गर्दै राजमार्गसमेत अवरुद्ध गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी तथा स्थानीयहरु घाइते भएका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।