जनकपुरधाम, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ को जनकपुरधाममा जारी अधिवेशनमा विभिन्न ७२ पदका लागि १७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको छ भने ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै दुई उपसभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधि–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उम्मेदवारी दिएका छन् । उपसभापतिमा रामाधार प्रासद यादव भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, दुई महामन्त्रीका लागि ५ जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो तथा देउवा समुहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । बिनोद चौधरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधि–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव उम्मेदवार छन् भने निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन् । त्यस्तै सहमहमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३, प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५, प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको हो ।