रौतहट, ६ पुस । रौतहटमा टिपरको ठक्करबाट मृत्यु भएका नेकपा एमालेका स्थानीय नेता खेदु चौधरीको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने सहमति पश्चात परिवारजनले शव बुझेका छन् ।

गाडी धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको हो ।

सोमबार अबेर रातिसम्म इलाका प्रहरी कार्यालय विजयपुरमा भएको छलफलमा १६ लाख रुपैयाँ क्षतिपुर्ती दिने सहमति भएको प्रहरी निरिक्षक विष्णु विश्वकर्माले बताए ।

क्षतिपूर्ती दिने र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात परिवारजनले शव बुझेका छन् । आइतबार राति साढे ८ बजे रौतहटको फतुवाविजयपुर–११ हिमालीबासमा टिपरको ठक्करबाट चौधरीको मृत्यु भएको थियो ।

घटनापछि सोमबार दिउँसो गाउँलेहरुले दोषीउपर कारबाही, मृतक परिवारलाई क्षतिपुर्ती लगायतको माग राख्दै प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रहरी कार्यालय माथि ढुङ्गामुढा गर्दा २ जना प्रहरी घाइते भएका छन् भने अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।