प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश–१ को तेस्रो जित

काठमाडौं, ६ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश–१ ले लगातार तेस्रो जित निकालेको छ । उसले मंगलबारको खेलमा लुम्बिनी प्रदेशमाथि ६७ रनको जित हात पारेको हो ।
यो जितसँगै प्रदेश–१ समूह ‘ए’ बाट विजेता तथा पराजित लुम्बिनी उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ४७ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि सरस्वती पुन र नीतु भण्डारीले सर्वाधिक ९÷९ रनको योगदान दिए ।
लुम्बिनीलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले तीन, अलिशा खडियाले दुई र संगिता राईले एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो। यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
प्रदेश–१ का लागि अप्सरी बेगमले अविजित ४४ रनको योगदान दिइन् । ३७ बलको सामना गरेकी उनले एक चौका र एक छक्का प्रहार गरिन् । काजल श्रेष्ठले ४० र रुबिना क्षेत्रीले १५ रन बनाए ।
लुम्बिनीका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट हात पारे । यो नतिजासँगै ३ खेलमा शतप्रतिशत जित हात पारेको प्रदेश–१ ले ६ अंक जोड्दा पहिलो पराजय बेहोरेको लुम्बिनीले ४ अंक जोड्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


