कांग्रेस प्रदेश २ अधिवेशन: आज मनोनयन दर्ता, केन्द्रीय नेताहरु जनकपुरधाममा

जनकपुरधाम, ६ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत मंगलबार मनोनयन दर्ता भईरहेको छ ।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता भईरहेको छ भने बुधबार निर्वाचन कार्यक्रम तय गरिएको छ ।
यद्यपि अहिलेपनि सर्वसम्मति गर्ने प्रयास भईरहेको एक नेताले जानकारी दिए । उम्मेदवारी दिने घोषणा गरेका प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र कांग्रेस रौतहटका सभापति कृष्ण यादवमध्ये कोही पछाडी हट्ने संकेत अहिलेसम्म दिएका छैनन् । त्यसमाथी प्रदेश २ को अधिवेशनमा शेखर कोइराला समूहको इन्ट्री समेत हुन लागेको देखिएको छ । १४औँ महाधिवेशनमा कोइराला समूहको राम्रो प्रदर्शनपछि सो समूहबाट नरेश यादवले समेत प्रदेश सभापतिका लागि उम्मेदवारी दिन लागेको स्रोतको दावी छ ।
प्रदेश २ को सभापति पदमा निधि खेमाबाट रामसरोजले उम्मेदवारी दिन लागेका हुन् भने कृष्ण यादव सभापति देउवा खेमाबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । देउवा पक्षबाट पार्टीका रौतहट जिल्ला सभापति कृष्णा यादवको नाउँ प्रदेश सभापति पदका लागि पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले घोषणा गरेका थिए ।
कृष्णा यादवको पक्षमा नै आफूले समर्थन जनाएको भन्दै महोत्तरी जिल्लाका सभापति महेन्द्र रायले समेत समर्थन जनाईसकेका छन् ।रिजालले अरु पदमा सम्झौता गर्न सकिएपनि सभापतिमा कुनै हालतमा पनि सम्झौता नगर्ने प्रतिक्रिया दिदै आईरहेका छन् ।
प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरू जनकपुरधाम पुगिसकेका छन् । नेता विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य उदयशमशेर राणा समेत जनकपुरधाम आइसकेका छन् । कोइराला पक्षबाट गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही लगायतका नेताहरु जनकपुरधाम आएका हुन् ।
प्रदेश अधिवेशन सर्वसम्मतिमै सम्पन्न गराउने प्रयास अहिले पनि भईरहेको गृहमन्त्री बालकृष्ण खाँणले प्रतिक्रिया दिएका छन् । उनले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी रहेकाले सर्वसम्मतिमा नेतृत्व चयन नभए निर्वाचनकै माध्यम अपनाउने बताए ।
सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । प्रदेश अधिवेशनअन्तर्गत जनकपुरधाममा मंगलबार मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम रहेको छ ।
सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को मावि धोविनिया वा प्रावि धनकौलमा तथा ‘ख’ को मावि गोडैता अधिवेशन सम्पन्न भएको छ । प्रदेश क्षेत्रअन्तर्गत ‘क’ मा अभिन्दन सहनीको सभापतित्वमा पदाधिकारीसहित प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि भएको क्षेत्रीय अधिवेशनमा अमरेशकुमार सिंह पक्षको प्यानल नै हारेपछि यसपटक उनीहरूले उम्मेदवारी नै दिएनन् । ‘क’ मा श्यामकुमार कार्की, रामबाबु उप्रेती, कुबेरबहादुर कार्की, दीपेन्द्र कोइरीलगायत १७ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, ’ख’ प्रदेश अधिवेशनमा पनि अमरेश सिंह पक्षले उम्मेदवारी नदिएपछि अशोककुमार सिंह सभापति रहेको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापतिसहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापतिबाहेक अन्य प्रतिनिधिले उम्मेदवारसमेत बन्न पाउनेछन् ।
प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ । त्यस्तै, प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवारसमेत बन्न पाउनेछन् ।
सर्लाहीबाट यसअघि चारवटै क्षेत्रबाट निर्वाचित क्षेत्रीय सभापतिसहित २६ जनाको दरले १०४ जना तथा प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएमा हरेक प्रदेश क्षेत्रबाट १८ जनाको दरले आठवटाबाट १४४ जना गरी २४८ जना मतदाता प्रदेश महाधिवेशनमा सहभागी हुनेछन् ।
अधिवेशनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


