जनकपुरधाम, ५ पुस । करिव ६ महिनापश्चात सोमबार बसेको जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख लालकिशोर साहले एकलौटी गरेको असन्तुष्ट वडाध्यक्षहरुले आरोप लगाएका छन् ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ट वडाध्यहरुले नगरप्रमुख लालकिशोर साहले बोेर्ड बैठकमा तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका हुन् ।

बैठकमा आफूहरु अल्पमतमा परेकोले उनले आफूहरुको कुनै कुरा नै नसुनेर आफू अनूकुल एकलौटी निर्णयहरु गरेको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।

वडाध्यक्ष साहले सोमबारको बैठकमा आफूले विभिन्न ९ वटा प्रस्ताव राखेपनि ति प्रस्तावहरुमाथि कुनै चासो नै नदेखाई बहुमतको आडमा मेयर साह तानाशाह बनेको दुःखेसो सुनाए ।

उनले आजको बैठकमा नगर सरसफाइ, वडा स्तरीय योजना, प्रत्येक ३ महिनामा बोर्ड बैठकको आह्वान, शिक्षा, स्वास्थ्य, नगरसभाबाट पारित भएको परिक्रमा क्षेत्रभित्र माछामासु तथा मदिरा निषेध गर्ने निर्णय, किसानका लागि मल, खाद्य तथा बिउको उपलब्धता, गत बर्ष करिव १ करोड रुपैयाँमा खरिद गरिएको भेपर लाइटलगायतका बिषयहरुमा मेयर साहसँग धारणा माग्न खोज्दा कुनै चासो नै नदेखाएको समेत बताए ।

वडाध्यक्षहरूले आफूहरू आफ्नो कुरा राख्न खोज्दा मेयर साहले बाउन्सर लगाएर हप्कीदप्की दिइरहेको तथा उपमहानगरको हरेक कुनामा बाउन्सरहरू भरिभराउ रहेको जिकिरसमेत गरेका छन् ।

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गइरहेको अवस्थामा आफूहरूले पटकपटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको र उल्टै गुण्डाशैलीमा आफूहरूमाथि जाइलागेको वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले आरोप लगाए ।

वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले मेयर साहले आफूहरूको वडाको योजना बिगारेकोले यस वर्ष कुनै काम नै गर्न नसकेको समेत बताए ।

उनले नगरप्रमुख साहले आफू अनूकुल चालु आर्थिक बर्षमा नगरभित्र पर्यटन प्रबद्र्धनको नाममा २ करोड ६७ लाख, विद्युतमा ६ करोड ११ लाख र महिला सशक्तिकरणका लागि अनुदानस्वरुप ४ करोड रुपैयाँ बजेट छुट्याए पनि यी बजेटहरु आफ्नो आसेपासेका करारका कर्मचारीसँग चलाईरहेको आरोप समेत लगाएका छन् ।