रौतहट, ५ पुस । दोषीलाई बचाउन खोजेको भन्दै रौतहटस्थित ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा गरिएको छ ।

रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा गरेका छन् ।

आइतवार राति टिपरको ठक्करबाट फतुवा विजयपुर–११ हिमालीबासमा मोटरसाइकल चालक नेकपा एमालेका स्थानीय नेता खेदु चौधरीको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनको मृत्युपश्चात पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयको आरोप छ ।

टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा प्रहरी निरीक्षक विश्वकर्माले घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ ।

यता, प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोप निराधार रहेको दावी गरेका छन् ।

सोमबार पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ बजे प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा दुईजना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ ।

यता रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।