जनकपुरधाम, ५ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पछिल्लो अध्ययन अनुसार स्थानीय तहमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, इन्जिनियर र ठेकेदारहरूको आपसी मिलेमतोबाट पछिल्लो समय भ्रष्टाचार बढ्दै गईरहेको छ ।

स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्मै भ्रष्टाचार व्यापक रूपमा भइरहेको अख्तियारले औंल्याएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुन थालेको भन्दै अख्तियारमा पछिल्लो समय उजुरी आउने क्रमसमेत ह्वात्तै बढेको बताइन्छ । जनप्रतिनिधिहरु नीजि स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग गर्ने क्रम बढ्दै गएको थुप्रै उदाहरणहरु छन् ।

तर, त्यसको ठिक विपरीत सार्वजनिक हितका लागि आफ्नो निजी सम्पत्ती न्यौछावर गर्ने जनप्रतिनिधि पनि हामी बिच रहेको पछिल्लो एक उदाहरणले स्पष्ट भएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले नगरपालिकाको भवन निर्माण गर्न १ करोड ६५ लाख बराबरको आफ्नो १० कठ्ठा १९ धुर जग्गा दान गरेका छन् ।

गत मंसिर २७ गते फेसबुकमा पोष्ट गर्दै उनले नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि आफ्नो निजी जग्गा दान गर्ने घोषणा गरेका थिए । सोहि अनुरुप उनले नगरपालिकाको केन्द्र रहेको वडा नम्बर–५ सीतापुरमा आमा फुली सुडीको नाममा रहेको कित्ता नम्बर ८ ‘घ’ ३१२ को १० कठ्ठा १९ धुर जग्गा आइतबार नगरपालिका कार्यालयको नाममा पास गरेका हुन् ।

मालपोत कार्यालय महोत्तरीमा नगरपालिकाको नाममा सो जग्गा पास गरिदिएको मेयर साहले जानकारी दिए । उनले हाल चलनचल्तीको सो जग्गाको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ रहेको बताए ।

करिव एक वर्ष अघि एकजना स्थानीयले नगरपालिकाको भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान गरेका थिए । सोहि जग्गामा भवन निर्माणको शिलान्यास समेत गरिएको थियो । तर ती व्यक्ति फेरि पछाडि हटेपछि नगरपालिकाको भौतिक संरचना निर्माण गर्न आफूले जग्गा दिएको मेयर साहले बताए ।

मेयर साहले दान गरेको जग्गाको चलनचल्तीको मूल्य १ करोड ६५ लाखभन्दा बढी छ । मेयर साहले नगरपालिकाको भवन निर्माण भएपछि सो भवनमा जग्गादाताको रुपमा आफ्ना पिता अशेश्वर साह सुडी र आमा फुलो सुडीको नाम सदाका लागि रहने भएकोले आफ्नो लागि गर्वको कुरा हुने बताए ।