बुधबारदेखि पेनडाउन गर्ने बालविकास शिक्षकहरुको चेतावनी

जनकपुरधाम, ४ पुस । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरेका छन् ।
सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत गत साउन महिनादेखि लागु हुनेगरी बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । सरकारको उक्त निर्णय अनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिका लगायत अधिकांश स्थानीय तहहरुले तलब वितरण गरिसकेका छन् ।
तर, जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनमा जाने विकल्प नरहेको बाल विकास शिक्षक संघर्ष समितिकी जिल्ला सह–संयोजक संजु यादवले बताइन् ।
बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने तलब मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने आफूहरुको माग रहेको उनले बताइन् ।
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको संयूक्त संघर्ष समितिका सह–संयोजक यादवको अध्यक्षतामा बसेको बैठकमा जनकपुरधाम उपमहानगरपालिकामा बुझाइएको ज्ञापनपत्र अनुसार पुस ६ गतेसम्म बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलब भुक्तानी नभए ७ गतेदेखि पेनडाउन गरी बिहान १० बजेदेखि उपमहानगरको कार्यालय अगाडि धर्ना दिने चेतावनी समेत दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका मातहतका बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलव निकासा सम्बन्धी सम्बोधन गराउन शिक्षक संघसंगठनहरुले सकारात्मक भूमिका निर्वाह नगरे आगामी दिनमा आफूहरुले पनि असहयोग गर्ने सह–संयोजक यादवले बताइन् ।
यादवले लेखापालको मासिक तलव १८ हजार ५०० र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलव १५ हजार हुनुपर्ने माग समेत गरिन् ।
जनकपुरधाम उपमहानगरपालिकाभित्रका ४९ वटा सामुदायिक विद्यालयमा करिब दुई सयको हाराहारीमा बालविकासका शिक्षकहरू कार्यरत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


