जनकपुरधाम, ४ पुस । धनुषामा गाँजा बोकेको भारतीय नम्बर प्लेटको स्कारपिओ दुर्घटना भएको छ ।

सोहि स्कारपिओबाट साढे १९ किलो लागुऔषध गाँजासहित एक भारतीय युवक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विहार राज्याको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्रामपञ्चायत बस्ने २२ वर्षीय विजय कुमार महतो रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरले भारतीय बी.आर.३२ के ९१२७ नम्बरको स्कारपिओ र गाँजासहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

बर्दिबासबाट आउँदै गर्दा शंका लागेर ढल्केबरचोकमा रोकाएर प्रहरीले चेकजाँच गर्न खोजेको थियो । तर गाडी नरोकेर भाग्न थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिले पिछा गर्दा सो स्कारपिओबाट पाँच सय मिटर दक्षिण आएर सडक छेउमा गाँजा फालेको थियो । त्यहाँबाट केहि मात्र दुरीमा रहेको बसही खोलाको पुलमा स्कारपिओसमेत ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना पश्चात त्यसमा सवार मानिसहरु फरार भएका थिए । खोजविनको क्रममा उँखुबारीमा लुकेर बसेको अवस्थामा महतोलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

रातो प्लास्टिकमा १९ किलो ५ सय ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ । गाँजा, स्कारपिओसहित पक्राउ परेका महतोमाथि कारबाही प्रक्रिया अढि बढाएको सुवेदीले बताए ।