काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि बिच छलफल भएको छ ।

प्रदेश २ को अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नका लागि दुबैजना बिच छलफल भएको हो ।

यही पुस ६ गते हुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा देउवासँग भेटेर निधिले छलफल गरेका हुन् ।

निधिले नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता समेत रहेका रामसरोज यादवलाई सभापतिमा समर्थन गर्नका लागि आग्रह गरेका थिए ।

सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई आफूले समर्थन गर्ने निर्णय गर्दा प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव पनि सँगै रहेको स्मरण गराउँदै निधिले यादव सिनियर नेता पनि भएकोले समर्थन गर्नुपर्ने तर्क अघि सारेका थिए ।

प्रदेश २ को सभापतिमा निधिका तर्फबाट यादवले उम्मेदवारी घोषणा गरेका थिए भने देउवाको तर्फबाट कृष्ण यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति देउवाले यस विषयमा कृष्ण यादवसँग कुराकानी गर्ने बताएको निधिले जानकारी दिएका छन् ।

प्रदेश २ मा पुस ६ गते उम्मेदवारको मनोनयन दर्ता र पुस ७ गते चुनाव हुने कार्यक्रम तय भएको छ ।