काठमाडौं, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पनि बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताए ।

आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।सर्वदलीय बैठकमा को–को उपस्थित हुन्छन् भन्ने कुराले आफ्नो पार्टी उपस्थित हुने–नहुने भन्ने निर्भर हुने उनको भनाइ छ ।

संसद् अवरोध र एमसिसीबारे सत्तारुढ दल कांग्रेससँग छलफल गर्न आपत्ति नरहेको भन्दै उनले भनेका छन्, ‘तर हामीले मान्यता नदिएका दलसँग छलफल हुन्न ।’

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसिसी सम्झौता अगाडि बढाउने सरकारको तयारी छ।

एमालेले आफूबाट विभाजित भएर गठन भएको नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै संसद्मा अवरोध जारी राखेको छ । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ ।

प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । सो बैठकमा संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे छलफल हुने बताइएको छ ।