काठमाडौं, १ पुस । कोरोना रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।

कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो । यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजर खरिद प्रक्रियामा समेत नेपाललाई जर्मनीले सहयोग प्रदान गरेको थियो ।

नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले भने, ‘हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौं । तसर्थ यस महामारीको शुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए/कोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मञ्चको दोश्रो ठुलो दाताको रुपमा छ । हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं ।’

१० प्रतिशतभन्दा बढी नेपालीले यस सहयोग मार्फत कोभिड–१९ रोगविरुद्धको खोप प्राप्त गर्न सक्ने जनाइएको छ । डा. रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गरेका छन् ।