जनकपुरधाम, १ पुस । सर्लाहीमा आगोले जलेर ३ जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गएराति सवा ९ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी ८ वर्षीया छोरी लक्ष्मी र ३ वर्षकी सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछयानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो ।

आगोले जलेर जोगी महरा आफैँ र उनकी ५ वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।

त्यस्तै, सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गएराति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

अत्यधिक मदिरा पिएका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिइन् । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएका छन् ।