मल खाद्य नपाएको भन्दै किसानद्वारा राजविराजमा विरोध प्रदर्शन

सप्तरी, २९ मंसिर । सप्तरीका किसानहरु मल खाद्य नपाउँदा आक्रोशित हुँदै सदरमुकाम राजविराजमा नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेका छन् ।
गहुँबालीमा आवश्यक पर्ने रासायनिक मल नपाएपछि गाउँ गाउँबाट आएका जिल्लाभरका किसानहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरलाई मात्रै मल उपलब्ध गराइएकोले अभाव सिर्जना भएको किसानहरुको आरोप छ ।
जिल्लाको मलेठ, बसबिट्टी, खोक्सर प्रवाहा, रायपुर, बक्धुवा, कल्याणपुर, १ नं योगिनियाँ, शम्भुनाथ, डिमन, गोइठी, पकरी, त्रिकौललगायतका ठाउँहरुबाट आएका किसानहरुले आफूहरुलाई मल खाद्य उपलब्ध नगराइएकोले विरोध गर्नुपरेको बताए ।
रायपुरका किसान हरिशंकर यादवले मलको अभावका कारण रोपिएको गहुँ समेत बिग्रन लागेको र आफूहरुलाई उपलब्ध गराइएको मलमा पनि व्यापक कालोबजारी हुने गरेको गुनासो गरे । मलका लागि सदरमुकाम धाँउदासमेत मल पाउन नसकेको उनको दुःखेसो छ ।
किसानहरुले सदरमुकाम राजविराजको ठाउँ ठाउँमा टायर बालेर चक्काजामसमेत गरेका थिए ।