काठमाडौं, २९ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यसपटकको ३ खेल पोखरामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले निकालेको नवौं चरणसम्मको खेल तालिकाअनुसार लिगको पाँचौं, सातौं र आठौं चरणका एक–एक खेल पोखरा रंगशालामा हुनेछन् ।

लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबले आफ्नो घरेलु मैदानका रूपमा पोखरा रंगशालालाई प्रयोग गर्ने भएपछि सुरुवातदेखि नै लिगका केही खेल काठमाडौं उपत्यकाबाहिर हुनसक्ने चर्चा चल्न थालेको थियो ।

एन्फाले लिगका केही खेल पोखरामा गर्ने तयारी भए पनि त्यसका लागि विपक्षी टोलीको सहमति चाहिने बताएको थियो ।

मनाङको प्रस्तावलाई नेपाल पुलिस क्लब, ब्रिगेड ब्याइज क्लब र च्यासल युथ क्लबले स्विकार गरेपछि लिग पहिलोपटक उपत्यका बाहिर हुने पक्का भएको हो ।

मनाङले पुष ३ मा नेपाल पुलिस, पुष १७ मा ब्रिगेड ब्वाइज तथा पुष २४ मा च्यासलसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगको ६७ वर्षे इतिहासमा काठमाडौं उपत्यकाबाहिर खेल हुन लागेको यो पहिलोपटक हो । यसबीचमा विभिन्न कारणले लिग उपत्यकामै केन्द्रित बन्यो ।

पोखरामा लिगका खेल खेलाइँदा त्यसको आम्दानी र खर्च सबै मनाङले बेहोर्ने एन्फाले बताएको छ ।

लिग पोखरामा हुँदा त्यसबाट मनाङलाई आर्थिक रूपमा फाइदा वा घाटा जे भए पनि त्यसले घरेलु फुटबलमा राम्रो सन्देश भने दिनेछ ।मनाङले यी खेल सफलतापूर्वक आयोजना गर्न सके यसले आगामी सिजन अन्य टोलीका लागि पनि हौसला प्रदान गर्न सक्छ ।

यी खेलले नेपाली फुटबलमा होम एण्ड अबेको संस्कार बसाउनका लागि एक खुड्किलोको रूपमा काम गर्छन् वा गर्दैनन् त्यो चाहिँ भविष्यले नै बताउने छ ।