महामन्त्रीको मतगणना बिहीबार बिहानबाट हुने

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको मतदानको गणना बिहीबार बिहानबाट हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महामन्त्रीमा भएको मतदानको गणना बिहीबारबाट सुरु गर्ने तयारी गरेको हो ।
महामन्त्रीमा खसेको मतको गणना बिहान ८ बजेबाट गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीका सबै उम्मेदवारहरु युवा रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी रहेको देखिएको छ ।
महामन्त्रीमा शेखर कोइरालाको प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल उम्मेदवार भएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।
कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए तापनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए ।
कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था रहेको छ ।