बुधबारको बैठकमा दुईवटा अध्यादेश पेश

जनकपुरधाम, २९ मंसिर । प्रदेश २ को बुधबार बसेको आठौं अधिवेशनको पहिलो बैठकमा दुईवटा अध्यादेश पेश भएसँगै प्रदेश सभा बैठक ९ दिनका लागि स्थगित भएको छ ।
सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गरेका हुन् ।
सुरुमा प्रमुख प्रतिपक्षी दल लोसपाले अध्यादेश पेश गर्न नदिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभाको आजको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी प्रस्तावलाई हटाइएको थियो ।
प्रदेश सभाको अर्को बैठक पुस ८ गते बिहिवार दिनको १ बजे बस्ने छ ।