मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन सोनलको आग्रह

जनकपुरधाम, २९ मंसिर । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल खरिद प्रकरणमा अनियमितता भएको अख्तियारको पहिलो चरणको अनुसन्धानमा देखिएकोले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
प्रदेशसभाको बुधबारको बैठकमा आफ्नो मन्तव्य राख्दै सोनलले अख्यितारले गत असार २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिइरहँदा साइकल खरिदमा थोरै भएपनि कमी कमजोरी देखिए मार्ग प्रशस्त गर्नेछु भनी दिएको अभिव्यक्तितर्फ इंगित गर्दै अब मार्ग प्रशस्त गरिदिनका लागि आग्रह गरे ।
उनले अख्तियारको छानविनको पहिलो प्रतिवेदनमै साइकल खरिद प्रक्रियामा अनियमितता भएको स्पष्ट भईसकेकाले मुख्यमन्त्री राउतलाई तत्काल राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह गरे ।
सोनलले मुख्यमन्त्री राउतले प्रदेश २ मा मुस्लिम हुनु अपराध हो भनी दिएको अभिव्यक्तिप्रति कडा प्रतिवादसमेत गरे ।
उनले भने,‘प्रदेश २ मा ९० प्रतिशत हिन्दु छन्, जुन प्रदेशमा मुख्यमन्त्रीजीलाई पूजामा टिका लगाएर शामिल गराइन्छ, हातमा रक्षाबन्धन गरिन्छ । हिन्दूको सबै पूजापाठ तथा धार्मिक अनुष्ठानमा मुख्यमन्त्री राउत प्रमुख अतिथिको रुपमा विराजमान हुन्छन् । उनलाई सबैले यति सम्मान दिए पनि उनले उल्टै यस्तो अभिव्यक्ति दिनु खेदजनक छ ।’
सोनलले प्रदेशका जनताले राउतलाई सर्वोच्च पदमा बसाएर उनलाई उच्च सम्मानका साथ हेर्ने गरेको बताए । सोनलले सर्वधर्म समभाव रहेको प्रदेश २ मा मुख्यमन्त्रीले प्रदेशसभामा यसरी अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताए ।