कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक निर्वाचित भएका छन् । देउवाले निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालालाई हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् ।
काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।
यसअघि उनी १३ औं महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए ।
कांग्रेस विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भए पनि यसपटक कोरोना महामारीका कारण केही महिना ढिला महाधिवेशन गरिएको हो ।
महाधिवेशनमा पहिलो चरणमा देउवा र सभापतिका अन्य प्रत्याशी डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका थिएनन् ।
त्यसैले, मंगलबार दिउँसो भएको मतदानमा पहिलो चरणमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइराला सभापति पदका लािग उम्मेदवार भएका थिए । पहिलो चरणको भन्दा दोस्रो चरणमा झन्डै डेढ सयभन्दा कम ४ हजार ५ सय ६३ मत खसेको थियो ।
देउवा कांग्रेसमा सभापति हुने सातौँ व्यक्ति हुन् । उनीभन्दा अगाडि कांग्रेसको १२ औं महाधिवेशनबाट सुशिल कोइराला सभापतिमा निर्वाचित भएका थिए ।
१३ औं र १४ औं महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएसँगै अब नेपाली कांग्रेसमा लामो विरासत बोकेको कोइराला परिवार मूल नेतृत्वबाट १० वर्ष अलग हुने निश्चित भएको छ ।
कांग्रेसमा सबैभन्दा लामो विशेश्वर प्रसाद कोइराला २९ वर्ष सभापति भएका छन् । त्यस्तै, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समान १४÷१४ वर्ष सभापति भएका छन् ।