जनकपुरधाम, २८ मंसिर । रविशंकर कुमार कर्ण नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगमा पुगी नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा यस दलको दर्ता नम्बर १७५ रहेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मंसिर ९ गते निर्णय भएकोले दल दर्ताको प्रमाणपत्र दिइएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

कर्णले गत साउन १२ गते नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । त्यसका लागि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गर्न आज बोलाएको थियो ।

तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा रहने बताइएको छ । त्यस्तै, पार्टीको केन्द्रीय समिति २१ सदस्यीय रहने जनाइएको छ । चुनाव चिह्न कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको छ ।

यसअघि नेपाली कांग्रेस परित्याग गरेर मधेश आन्दोलनमा लागेका महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) दर्ता गराएका थिए ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा ठाकुर नेतृत्वको तत्कालीन तमलोपाले भाग लिएको थियो । दुबै संविधानसभा निर्वाचन छुट्टाछुट्टै लडेका ६ वटा मधेश केन्द्रित दल २०७४ सालमा एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो ।