जनकपुरधाम, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका नेता बृषेशचन्द्र लालले जनकपुरधाम–कुर्था–जयनगर रेल नचल्नुमा राजनीतिक कारण प्रमुख बाधक रहेको टिप्पणी गरेका छन् ।

नेता लालले रेल नचल्नुमा अब तकनीकी नभई राजनीतिक कारण नै प्रमुख बाधक रहेको बताएका हुन् । उनले जनकपुरधाम–कुर्था–जयनगर रेल चल्ने सम्भावना क्षीण हुँदै गएको समेत बताए ।

नेपाल रेल्वे कम्पनीलाई कोंकन रेल्वे कर्पोरेसन लिमिटेडले २ महिना अघि नै पुनः पत्राचार गरी रेल सञ्चालन सम्झौता कार्यान्वयन गर्न चेताएको छ । पत्रमा अब पनि गरिने अकारणको देरीले यसको सञ्चालन अव्यवस्थित तथा आर्थिक रुपले अलाभकारी हुनेप्रति ध्यानाकर्षण गरेकोले अब कारण तकनीकी नभई राजनीतिक रहेको उनले जिकिर गरे ।

उनले भने,‘जनकपुरधाम–कुर्था–जयनगर रेल सञ्चालन भयो भने जनकपुरधाम विश्व–व्यापारसँग जोडिनेछ । यहाँको व्यापारिक गतिविधि सयौं गुणा बढ्नेछ । रोजगारका अवसर ह्वात्तै बढ्नेछन् । होटेल, पर्यटन, धार्मिक महत्व, मनोरञ्जनका साधनहरू सबै तीब्रतर गतिले अगाडि बढ्ने निश्चित छ । तैपनि हामी चुप छौं ?’