जनकपुरधाम, २८ मंसिर । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।

बुधबार बस्ने प्रदेशसभा बैठकका लागि तयारी पुरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा उपस्थित हुन सांसदहरुलाई जानकारी गराइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।

बुधबार बस्न लागेको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश गरिने तथा केही अध्यादेशहरुमाथि पनि छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए ।

यसअघि असोज २२ गते प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको थियो ।