सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत पनि ल्याउन सकेनन् मत, दोस्रो चरणको मतदान आजै

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा ५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कसैले पनि बहुमत अर्थात् ५० प्रतिशत मत कटाउन सकेनन् ।
५० प्रतिशत मत कटाउन नसक्दा पुनः दोस्रो चरणको चुनाव हुने भएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटे पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ ।
मंगलबार बिहान सार्वजनिक मतपरिणामअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव हुने भएको हो ।
सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेको थियो । जसमा ७७ मत बदर भएको छ । मतपरिणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १ हजार ७०२ अर्थात् २६.९३ प्रतिशत मत पाएका छन् ।
बाँकी ३ उम्मेदवारले ८ प्रतिशत मत पनि पु¥याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २५० अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।
सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २२ मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हो ।
देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेको छ । सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । सोमबार मतदान भएका तीन स्थानमा आज पनि मतदान हुने भएको हो ।