काठमाडौं, २८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार मंगलबार संघीय संसदको दुवै सदनको १०औँ अधिवेशन सुरु हुँदैछ ।

सरकारको सिफारिसअनुसार मंसिर १६ मा राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

सोहीअनुसार मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

सम्भावित कार्यसूचीः

–सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

–सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने ।

–गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेस गर्ने ।

–भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्ने ।

–कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने ।