काठमाडौं, २७ मंसिर । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोपमा ३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत दैलेखले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए ।

मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनजना आरोपितहरूलाई दोषी ठहर गरेको हो ।

आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ ।