नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।
भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृह गरी तीन मतदानस्थलबाट निर्धारति समयभन्दा तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो ।
मत खसाल्नका लागि तीन मतदानस्थलमा १ हजार १ सय बुथ राखिएको छ ।
कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन् । बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन् ।
शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार छन् ।
दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना भिड्नेछन् भने ९ महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसमा सभापतिमा निर्वाचित कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ ।