काठमाडौं, २६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ । त्यस्तै, ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।