सभापतिका एक प्रत्यासीसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।
थप गरिएको समय आइतबार दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
१३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा ५४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने र सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।
चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।
पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५५ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।