जनकपुरधाम, २६ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गरेको केही घण्टा नबित्दै पार्टी भित्र सो निर्णयविरुद्ध विद्रोह सुरु भएको छ ।

पार्टीले एकै व्यक्तिलाई पटक पटक दोहोर्याइरहेको भन्दै लोसपाकै नेताहरुको एक समूहले सो निर्णयको बिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

लोसपाले विभिन्न जिल्लामा चयन गरेको अध्यक्ष र प्रदेशको अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गर्ने निर्णय विरुद्ध सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाएका छन्

विज्ञप्तिमा पार्टी नेतृत्वपंक्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरी पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेकोले यो निर्णय आफूहरुलाई मान्य नहुने उल्लेख छ । पार्टीमा सामूहिक छलफल नगरी निर्णय गरिएको र आगामी दिनमा सामूहिक रुपमा निर्णय गर्न विज्ञप्तिमा सुझाव दिइएको छ ।

यी निर्णयहरु नसच्चिए बाध्य भएर आगामी कदम उठाउने विज्ञप्तिमार्फत चेतावनी समेत दिइएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा चयन गरेका अध्यक्ष र प्रदेशको अध्यक्षमा सोनलको नियुक्ति विरुद्ध लोसपाकै ३० जनाले सामूहिक रुपमा विरोध जनाएका छन् ।

असन्तुष्ट नेता उमेश मण्डलले नेताहरुको दोहोरो चरित्रका कारण पार्टी धरासायी भएको आरोप लगाउदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्यालाई बेवास्ता गर्ने र अन्ततः पार्टी संकटमा पर्ने बताएका छन् ।