काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सुरुदेखि नै सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् ।

पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिंह र शेखर कोइराला तयार भए आफूले पनि समर्थन गर्ने निधिले बताए ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकस्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।

चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

उनले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या कोइराला र सिंहले मात्र छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् ।

रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए ।