नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–१ र २ मा संस्थापनइतर समूहको जित

जनकपुरधाम, २३ मंसिर । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–१ र २ मा संस्थापनइतर समूहले जित हासिल गरेको छ ।
बिहीबार सम्पन्न मतगणनाअनुसार निर्वाचन क्षेत्र नम्बर–१ र २ मा संस्थापनइतरले क्षेत्रीय सभापति पाएको हो ।
निर्वाचन परिणामअनुसार क्षेत्र नम्बर–१ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् ।
त्यस्तै, क्षेत्र नम्बर–२ को क्षेत्रीय सभापतिमा कौशल किशोर राय विजयी भएका छन् । उनी पनि संस्थापन इतरका हुन् ।
महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ । जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बाट प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन् ।
दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरिणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाति कोटाको सहारा लिएर महाधिवेशन प्रतिनिधि बने ।
यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचको हारजितको रूपमा हेरिएको छ ।
क्षेत्र नम्बर–३ मा भने मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन् ।