विवाहपञ्चमीमा जनकपुरधाममा उर्लियो जनसागर (फोटो फिचर)

जनकपुरधाम, २२ मंसिर । भगवान श्री सीताराम विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधाममा जनसागर उर्लिएको छ ।

विवाहपञ्चमीको मुख्यदिन आज रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको हो ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयम्बर गरिएको छ ।

विवाह उत्सवमा सहभागि हुन नेपाल र भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालुहरु जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागि हुन श्रद्धालु भक्तजनहरुको भिड लागेको छ ।

आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदानमा गएर स्वयम्वर आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमी मैदानमा पुष्पवृष्टि गरेको थियो । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

विवाहपञ्चमीको भिडमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । भिडभाडमा हुन सक्ने अपराधिक घटनालाई रोक्न करिव २ हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ ।





















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


