जनकपुरधाम, २२ मंसिर । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन देशका विभिन्न भाग तथा भारतबाट जनकपुरधाम आउने श्रद्धालुहरुका लागि विगतका बर्षहरुमा व्यवस्थित खानेपानीको व्यवस्था थिएन् ।

खानेपानीको व्यवस्था नहुदाँ पानी पिउन श्रद्धालुहरुलाई धेरै कठिनाईको सामना गर्नुपर्दथ्यो ।

विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुलाई नगरभित्र खानेपानी उपलब्ध नहुदाँ कठिनाई भईरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश २ सरकारको खानेपानी तथा उर्जा विकास मन्त्रालयले विभिन्न ठाउँमा खानेपानी ट्याङ्कीको व्यवस्थापन गरेको छ ।

खानेपानी तथा उर्जा विकास मन्त्रालयका सचिव प्रेमकुमार सिंहको समन्वयमा नगरका करिव एक दर्जन स्थानमा स्वच्छ खानेपानी ट्याङ्की जडान गरिएको हो ।

नगरभित्रका पिडारीचोक, मिल्स एरिया, बसपार्क, तिरहुतिया गाछी, रेल्वे स्टेशनलगायतका करिव एक दर्जन स्थानमा श्रद्धालुको सहजताका लागि एक/एक हजार लिटरको खानेपानी ट्याङ्की जडान गरिएको महाशाखा प्रमुख जक्की अहमद अन्सारीले बताए ।