काठमाडौं, २२ मंसिर । बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारा गेम्समा सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।
नेपालबाट तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक गरी चार खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा तेक्वान्दोले समान १–१ स्वर्ण, रजत र कास्य जित्न सफल हुँदा टोकियो पारा ओलम्पियन पलेशा गोवर्द्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कास्य जिते ।

ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदकनजिक पुगेका थिए । उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए ।क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसँग पराजित भएपछि पदकबाट चुके ।

पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए।

स्वागत कार्यक्रममा पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिइन् ।

टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।