जनकपुरधाम, २२ मंसिर । सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह मंगलबार राति भएको पार्टीको क्षेत्रिय अधिवेशनमा हार बेहेर्नुपरेको छ । उनीविरुद्ध गठबन्धन बनाएको अर्को पक्षसँग उनको टिम नै पराजित भयो ।

प्रतिनिधिसभा चुनावमा भारी मतले जितेका सिंह पार्टीको आन्तरीक चुनावमा भने गुटबन्दीका कारण महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । सिंह शेखर कोइराला पक्षका भएकाले उनलाई चुनाव जित्न नदिन शेरबहादुर देउवा र बिमलेन्द्र निधि पक्ष एक भएको थियो ।

सोही क्षेत्रका दुईजना प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह अमरेशविरुद्ध एक भएका थिए । अमरेशको पकड भएको तीन वटा वडामा अधिवेशनसमेत हुन नदिइएपछि उनी हार्ने आंकलन पहिले नै गरिएको थियो । अमरेस सिंहविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको छ ।

अमरेशले पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए । संस्थापनइतर पक्षलाई कमजोर बनाउन शक्तिको दुरुपयोग गरिएपछि सर्लाहीमा विवाद बढेर वडा अधिवेशनसमेत हुन सकेको थिएन । तीन जना निर्वाचन अधिकृतले चुनाव गराउने नसक्नेभन्दै राजीनामा दिएका थिए ।

अहिले सर्लाहीमा अधिवेशन गराउन अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी पनि सुरक्षाका लागि सिडियो क्वाटरमा बसेका छन् ।

गएराती नै सर्लाही क्षेत्र नम्बर १ को क्षेत्रिय अधिवेशनको चुनाव भएको छ भने परिणाम औपचारीक रुपमा आँउन बाँकी रहेको छ ।विवादका कारण स्थगित भएको सर्लाही क्षेत्र नम्बर २ र ३ को क्षेत्रिय अधिवेशनको चुनाव आज हुने जनाईएको छ ।