काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई बैठकमा बोलाउन छोडेको छ ।

यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने पार्टीको १४औं महाधिवेशनमा उठ्ने पदाधिकारीको नाम टुङ्गो लगाउन सभापति देउवाले आज संस्थापन पक्षको बैठक बोलाएका थिए ।

अघिल्ला बैठकहरूमा संस्थापन पक्षले निधिलाई यस्ता बैठक बोलाउने गरे पनि आजको बैठकमा भने उनलाई कुनै सूचना नदिइएको निधिले बताए ।

‘संस्थापन पक्षबाट मेरो नाम काटिएको छ । म घरमै छु । बैठकमा छैन,’ उपसभापति निधिले भने, ‘यसअघि संस्थापन पक्षको बैठकमा बोलाइन्थ्यो ।’

निधिले यसपटकको महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार घोषणा गरेपछि संस्थापन पक्ष उनीसँग रिसाएको हो । संस्थापन पक्षको तर्फबाट हालका सभापति तथा प्रधानमन्त्री देउवाले उम्मेदवारी दिंदै छन् ।

निधि यसअघि संस्थापनको पक्षको नेताको रुपमा चिनिन्थे । यसपटक सभापति पदमा देउवासँग कुरा नमिलेपछि उनी आफ्नो छुट्टै प्यानल निर्माण गरी महाधिवेशनमा जाने तयारीमा छन् ।