जनकपुरधाम, २२ मंसिर । जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सव धुमधामका साथ मनाइँदैछ ।

एक साता अगाडीदेखि नै जनकपुरधाममा विवाहका गितहरु गुन्जिन थालेका छन् । पछिल्ला वर्ष कोरोना संक्रमणको कारण विवाहपञ्चमी महोत्सवमा त्यस्तो उत्साह देखिएको थिएन । यसवर्ष भने कोरोनाले पनि विवाहपञ्चमी महोत्सवमा हुने भीडभाडलाई छेक्न सकेको छैन ।

मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भगवान श्रीराम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।

त्रेतायुगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत रामजानकीको डोलालाई स्वयम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ । आज दिउँसो साधुसन्तको अगुवाइमा झाकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयम्बर हुने जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।

स्वयम्वरपश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुनेछ । डोला दर्शन गर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुरधाम आएका छन् ।साताव्यापी रुपमा मनाइने रामजानकी विहपञ्चमी महोत्सवमा नगरदर्शन, फूलबारी लिला, धनुषा यज्ञ, तिलकोत्सव, मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ । आज रामाजानकीको विवाह पश्चात बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।

विवाहपञ्चमीको अवसरमा सामाजिक संंघसंस्थाहरुले मेलामा आउने लाखौ तिर्थालुको सेवाका लागि विभिन्न ठाउँहरु शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटेकाछन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार, आवस, निःशुल्क भोजन तथा मेलामा अलपत्र परेकाहरुलाई खोजविन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघसंस्थाहरुले गरिरहेका छन् ।

त्रेता युगको झ–झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौ दर्शनार्थीहरु जनकपुरधाम आइपुगेका छन् ।विवाहपञ्चमीमा हजारौँको संख्यामा आउने श्रद्धालुहरुका कारण नगरभरी भीडभाड हुने गरेको र यस स्थितिमा चोरीका घटनाहरुमा समेत भीडभाडमा बढ्नेभएकाले सुरक्षा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

यता विवाहपञ्चमीमा सवारी साधन सहित आउने श्रद्धालुहरुको सवारीलाई नगर बाहिरै व्यवस्थित गर्न समस्या भईरहेको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख नवाराज न्यौपानेले बताए ।